रामपुरमा नयाँ प्रविधिमा आकर्षण बढ्यो

पाल्पाको रामपुर नगरपालिकामा निर्माण भएको उच्च प्रविधि (हाइटेक) को तरकारी टनेलमा आकर्षण बढ्दो छ । पाल्पा जिल्लामै ठूलो क्षमताको टनेल निर्माण भएपछि धेरैले नयाँ प्रविधिको अवलोकन गरी घरघरमा आधुनिक कृषि प्रविधि अवलम्बन गर्न थालेका छन् । यहाँ टनेल निर्माण भएपछि अहिले रामपुरमा विभिन्न क्षेत्रबाट कृषि समूह, विद्यार्थी, विभिन्न सङ्घसंस्था, व्यक्तिहरु टनेल हेर्न आउने गरेका छन् । व्यावसायिक कृषिमा कृषकलाई नयाँ प्रविधि सिकाउनका लागि यहाँ टनेल निर्माण गरिएको हो । कृषि शाखाको परिसरमा साढे दुई रोपनी क्षेत्रफलमा ३६ मिटर लम्बाइ र ३६ मिटर चौडाइ रहेको टनेल निर्माण भएको छ । प्रदेश सरकारको रु २५ लाख सहयोग र रामपुर नगरपालिकाको रु ३१ लाख गरी रु ५६ लाखको लागतमा निर्माण गरिएको हो । टनेलभित्र तीन हजार गोलभेँडाका बिरुवा लगाइएको छ । समूहमा अवलोकन गर्न आउनेलाई रु एक हजार शुल्क, प्रतिव्यक्ति रु एक सय र विद्यार्थीका लागि रु ५० टिकट कायम गरिएको छ । कृषिको व्यावसायिकीकरणतर्फ उन्मुख बन्दै गएको रामपुर नगरपालिका यतिखेर आधुनिक प्रविधिमा फड्को मार्न थालेको कृषि शाखाप्रमुख रामहरि पाण्डेय बताउनुहुन्छ । टनेल निर्माण भएपछि दिनहुँ अवलोकन गर्न आउने जानेको सङ्ख्या बढ्दै गएको उहाँले बताउनुभयो । “ठूलो क्षमताको टनेल भएकाले धेरैले नौलो प्रविधि मान्दै अवलोकन गर्ने गरेका छन्, कृषि शाखाले दुईजना कर्मचारी नियमित रेखदेखमा परिचालन गरेको छ”, शाखाप्रमुख पाण्डेयले भन्नुभयो । नगरपालिका स्वयंले विभिन्न बेमौसमी जातका तरकारी उत्पादन गरी राजश्व बढाउने बताएको छ । यो प्रविधिको टनेल समयसमयमा मर्मतसम्भार गरिएको खण्डमा १० देखि २० वर्षसम्म प्रयोग गर्न सकिन्छ । रामपुर क्षेत्रलाई तरकारीमा आत्मनिर्भर बनाउन र कृषकमा नयाँ प्रविधि सिकाएर उत्पादन बढाउन ठूलो क्षमताको टनेल निर्माण गरिएको नगरपालिकाका आर्थिक विकास समितिका संयोजक हुमनाथ न्यौपाने बताउनुहुन्छ । गर्मीयाममा चिसो तापक्रम, थोपा सिँचाइ प्रविधि, हावामा सापेक्षिक आद्रता कायम गर्ने, घामको तापक्रम छेक्ने, कीरा लाग्नबाट बचाउने गर्छ । यस उच्च प्रविधिको तरकारी टनेलमा मौसमी तथा बेमौसमी तरकारीहरु लगाउन सकिन्छ । टनेलभित्र तरकारी लगाउँदा गर्मीयाममा सेन्सरमार्फत कुलिङ प्याड र फ्यानको प्रयोग गरी चिसो तापक्रम र हावामा सापेक्षित आद्रता कायम गर्ने गर्छ । साथै थोपा सिँचाइ प्रविधि, सेड नेटद्वारा घामको तापक्रम छेक्ने, कीरा छेक्ने जालीको प्रयोगले बिरुवामा कीरा लाग्नबाट बचाउने, जाडोयाममा रोलिङ युभी प्लास्टिकद्वारा बाहिरको भन्दा तापक्रम वृद्धि गराई बिरुवालाई आवश्यक तापमान कायम गर्ने जस्ता विशेषता रहन्छन् । यसले कृषकलाई आधुनिक प्रविधिबारे जानकारी गराउन सहयोग पुग्दछ । यसको मुख्य उद्देश्य बेमौसमी तरकारी उत्पादन गर्नु हो । कृषकलाई आधुनिक प्रविधिबारे जानकारी गराउन यस टनेलले ठूलो टेवा पुग्ने विश्वास लिइएको युवा कृषक बलबहादुर राना बताउनुहुन्छ । नवीनतम प्रविधि रामपुरमा भित्रिएपछि युवाहरुमा कृषिप्रतिको आकर्षणसमेत बढ्दै गएको छ । यस क्षेत्रमा दुग्ध डेरी उद्योग, आधुनिक प्रविधिबाट तरकारी खेती विस्तार, कृषिजन्य यान्त्रिकीकरणको प्रयोग बढ्दो रहेको छ । नयाँ नयाँ प्रविधि रामपुरमा भित्रिन थालेपछि निर्वाहमुखी कृषि व्यवसाय गरेका कृषकको व्यावसायिक कृषिमा आकर्षण बढ्दै जानुलाई अत्यन्त महत्वका साथ हेरिएको छ । यस क्षेत्रमा उत्पादन भएका तरकारी, फलफूल लामो समय निबिग्रियोस् भनेर भण्डार गरेर राख्न करिब तीन सयभन्दा बढी मेट्रिक टन क्षमताको चिस्यान केन्द्र निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन (डिपिआर)को काम पनि भइसकेको छ । नगरपालिकाले बुटवल लगायतका बाहिरी बजारबाट रामपुरमा भित्रिने तरकारीलाई निरुत्साहित गर्ने भएको छ । स्थानीय उत्पादनलाई प्राथमिकता दिएर नगरपालिकाले आउँदो पुस १ गतेदेखि बाहिरबाट रामपुरमा भित्रने तरकारी निरुत्साहित गर्ने कार्यक्रम ल्याएको नगरप्रमुख रमणबहादुर थापाले बताउनुभयो ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: