मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

आगामी मङ्सिर १४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य तथा स्थानीय तहको रिक्त पदको उपनिर्वाचनको तयारीका लागि विभिन्न जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । निर्वाचन आयोगका अनुसार मुलुकका ३७ जिल्लामा ४८ वटा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन, उपमहानगरपालिका प्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, उपाध्यक्ष एक र ४३ वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि आज उम्मेदवारी दर्ता हुनेछ । स्थानीय तहका सदस्यको रिक्त पदका लागि भने कात्तिक २७ गते मनोनयन दर्ता गर्ने निर्वाचन कार्यक्रम तय भएको छ । बनेपा– धुलिखेल नगरपालिका वडा नं २ को वडाध्यक्ष पदका लागि हुने उपनिर्वाचनको लागि काभ्रेपलाञ्चोकको धुलिखेलमा बुधबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । वडाध्यक्ष राजन कोइरालाको २०७४ भदौ ९ गते निधन भएपछि सो वडामा हुने उपनिर्वाचनमा एक हजार ८७७ मतदाता सहभागी हुने मुख्य निर्वाचन अधिकृत पुरुषोत्तम ढकालले बताउनुभयो । निर्वाचनका लागि सेतीदेवी माविलाई मतदानस्थल तोकिएको छ । सो स्थलमा दुई मतदान केन्द्र रहेको जिल्ला निर्वाचन अधिकृत उमेश राईले बताउनुभयो । जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक गरिएको निर्वाचन कार्यक्रम अनुसार कात्तिक २७ गते उम्मेदारको मनोनयनपत्र दर्ता गर्ने र सूची प्रकाशन गर्ने, २८ गते उम्मेदारको विरोधमा उजुरी दिने, २९ गते मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गर्ने र नामावली प्रकाशन गर्ने, ३० गते नाम फिर्ता लिन चाहने उम्मेदवारले नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने र मङ्सिर १ गते उम्मेदारलाई निर्वाचन चिह्न प्रदान गर्ने छ । सप्तरी– उपनिर्वाचनका लागि सप्तरीको छिन्नमस्तामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । छिन्नमस्ता गाउँपालिका वडा नं ७ मा वडाध्यक्ष पदका लागि हुने उपनिर्वाचनमा एक हजार ४०३ मतदाता रहेको मुख्य निर्वाचन अधिकृत एवं सप्तरी जिल्ला अदालतका मुख्य जिल्ला न्यायाधीश चन्द्रमणि ज्ञवालीले बताउनुभयो । राजपा नेपालबाट वडाध्यक्षमा निर्वाचित प्रभाकर यादव जिल्ला समन्वय समिति सप्तरीको प्रमुखमा निर्वाचित भएपछि उक्त पद रिक्त भएको हो । वडाध्यक्षका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अच्छेलाल यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । वडाध्यक्षको गत निर्वाचनमा प्रभाकर यादवसँग झिनो मतले अच्छेलाल पराजित हुनुभएको थियो । त्यतिबेला अच्छेलाल स्वतन्त्रबाट उम्मेदवार बन्नुभएको थियो । राजपा र समाजवादी पार्टीले संयुक्त उम्मेदवार दिने सहमति गरे पनि उम्मेदवार घोषणा गरिसकेका छैनन् । नेपाली काङ्ग्रेसले उम्मेदवारबारे छलफल चलिरहेको तर निर्णय नभएको जनाएको छ । गुल्मी– जिल्लाको रुरुक्षेत्र गाउँपालिका–६ अन्तर्गत रिमुवामा हुन गइरहेको उपनिर्वाचनका लागि बुधवार रुरुक्षेत्र गाउँपालिकाको मुकाम बलेटक्सारमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । तत्कालीन नेकपा (एमाले)बाट वडाध्यक्षमा निर्वाचित पूर्णबहादुर रेगामीको २०७५ साउन १३ गते असामयिक निधन भएपछि सो पद रिक्त रहेको थियो । उक्त पदका लागि हुने उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को तर्फबाट गिरीप्रसाद सिंजाली र नेपाली काङ्ग्रेसको तर्फबाट बेदबहादुर दर्लामीलाई उम्मेदवार बनाउने घोषणा गरिएको छ । जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्कअनुसार रुरुक्षेत्र गाउँपालिका–६ अन्तर्गत रिमुवामा हुने उपनिर्वाचनमा दुई हजार २४८ मतदाता सहभागी हुनेछन् । खोटाङ– खोटाङको साकेला गाउँपालिका–३ का वडाध्यक्ष मणिकुमार राईको मृत्यु भएपछि रिक्त रहेको सो पदका लागि हुने उपनिर्वाचनका लागि मात्तिम मानेभञ्ज्याङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । तत्कालीन नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित राईको निमोनियाका कारण गत वैशाख ९ गते मृत्यु भएपछि रिक्त रहेको सो पदका लागि हुने उपनिर्वाचनमा खिदिमाका एक हजार ३०३ मतदाताले मताधिकार उपयोग गर्ने मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश मातृकाप्रसाद आचार्यले बताउनुभयो । वडाध्यक्ष पदका लागि हुने उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले स्व मणिकुमारकी श्रीमती शिवकला राई, नेपाली काङ्ग्रेसले शुक्र तामाङ र समाजवादी पार्टी नेपालले रमेश राईलाई उम्मेदवार घोषणा गरिसकेको छ । कपिलवस्तु– कपिलवस्तुको शिवराज नगरपालिका–१० लालपुरमा वडाध्यक्ष पदका लागि हुने उपनिर्वाचनका लागि सो नगरपालिकाको वडा नं. ५ मा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश लोकजङ्ग शाहले बताउनुभयो । उहाँका अनुसार, मनोनयपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन कात्तिक २७ गते, उम्मेदवारको विरोधमा उजुरी दिने कात्तिक २८ गते, मनोनयपत्र र उजुरीउपर जाँचबुझ कात्तिक २९ गते, मनोनय भएका उम्मेदवारको नामावली प्रकाशन कात्तिक २९ गते, उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कात्तिक ३० गते, उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान मङ्सिर १ गते र मतदान मङ्सिर १४ गते हुने कार्यक्रम रहेको छ ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: