भत्ता नपाउँदा ज्येष्ठ नागरिकको चाड खल्लो

सामाजिक सुरक्षा भत्ताबापतको रकम आठ महिना बित्दा पनि सप्तरीको बलान बिहुल गाउँपालिकाका लक्ष्यित समुदायले पाउन सकेका छैनन् । सरकारले दिँदै आएको भत्ता रकम समयमा नपाए पछि यहाँका ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एकल र दलित समुदायले गाउँपालिकाका वडाध्यक्ष र गाउँपालिकाका अध्यक्षसँग “हाम्रो भत्ता किन आएन” भनेर दिनहुँ जसो गुनासो गर्ने गरेका छन् । दिनहुँ गुनासो गर्दा पनि स्थानीय तहले आजभोलि भन्दै आलटाल गर्ने गरेपछि निराश भएका ज्येष्ठ नागरिकहरू लौरो टेक्दै केही दिन अघि राजविराजस्थित जिल्ला प्रशासन कार्यालय, सप्तरीमा हुल बाँधेर आए । विकट बाटो हुँदै ३० किलोमिटर टाढाबाट राजविराज आउनेमा १०८ वर्षीय तेतर सदादेखि दृष्ट्रिविहीन सजन भण्डारी समेत ४० जना थिए । उनीहरूले जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनिल खनालसमक्ष आर्थिक वर्ष २०७५÷७६ को अन्तिम किस्ता बापतको रकम समेत नपाउँदा कठिनाइ भोग्नु परेको गुनासो गरे । बलान बिहुल गाउँपालिका वडा नं ३ ले आव २०७५÷७६ को तेस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता अहिलेसम्म वितरण गरेको छैन । अन्य स्थानीय तहका जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, असहाय, एकल महिलाले आर्थिक वर्ष २०७६÷७७ को सामाजिक सुरक्षा भत्ता लिइसकेको भन्दै ६८ वर्षीया मिथलीदेवी पासवानले आफूहरूले गत आर्थिक वर्षको समेत नपाएको दुःखेसो पोखिन् । “हरेक वर्ष असार महिनामा सामाजिक सुरक्षा भत्ता पाउँदै आएका थियौं, यो वर्ष कात्तिक बित्न लाग्दा समेत भत्ता पाएका छैनौं,” पासवानले भन्नुभयो – “वृद्धभत्ता नपाउँदा घरमा नून, तेलसहित दैनिक उपभोगका सामान किन्न समस्या भएको छ ।” समयमा रकम नपाउँदा दशैं, तिहार र छठ जस्ता महत्वपूर्ण पर्वमा इच्छा लागेका कपडा किन्न र खानेकुरा खान नपाएको उनीहरूको दुःखेसो थियो । सबैले वर्ष दिनको चाडपर्व रमाइलोसँग मनाउन पाउनु पर्नेमा चाडपर्वमा उत्साह नै मार्ने काम भएको र औषधोपचार गर्न नपाएर स्वास्थ्य समस्या बल्झिएको ७० वर्षीया सहजीदेवी पण्डित बताइन् । सरकारले ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्नेमा सरकारबाट पाउने सुविधासमेत स्थानीय सरकारबाट रोकिदिँदा अपमान महशुस भएको ७१ वर्षीय राजलाल पासवानले बताए । उनले अविलम्ब सामाजिक सुरक्षा वापतको भत्ता उपलब्ध गराउन माग पनि गरे । गाउँपालिका र वडा कार्यालयको कमजोरीका कारण झण्डै ३०० जनाले सामाजिक सुरक्षा भत्ता पाएका छैनन् । भतिजा रामकृपाल मण्डलको घरमा वडा कार्यालय स्थापना गरेका वडाध्यक्ष कपलेश्वर मण्डलले छोरा विष्णु मण्डललाई कार्यालय सहयोगीमा राखेका छन् । अन्य कर्मचारी नभएको वडा कार्यालयमा अनियमितता गर्नकै लागि सचिवलाई कार्यालयमा बस्न नदिएको गुनासो गर्दै ६५ वर्षीय श्याम दासले लक्ष्यित समुदायको लाखौं रुपियाँ आठ महिनादेखि आफूखुशी उपभोग गर्ने र ऋणमा लगाएर ब्याज खानेमाथि कारवाही हुनु पर्ने माग गरे । सामाजिक सुरक्षा भत्ता नपाउँदा यो वर्षको सबै चाडपर्व समेत खल्लो भएको जेष्ठ नागरिक लुखिया सदाको भनाइ थियो । उनले भत्ता आउँला र चाडपर्व टारौंला भन्ने आशामा बसेका आफूहरुको हातमा अहिलेसम्म पैसा नपरे पछि गुनासो गर्न राजविराज आएको बताए । ज्येष्ठ नागरिक रामनारायण गुप्ताका अनुसार वडामा ३०० जना सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित भएका छन् । उनले भने – “वडा कार्यालय र गाउँपालिकामा दिनहुँ जसो गुनासो गरे पनि अल्झाउने काम मात्र भए पछि गुनासो गर्न जिल्ला प्रशासन कार्यालय आएका हौं ।” बलान बिहुल गाउँपालिकामा सामाजिक सुरक्षा भत्ताको वडागत अभिलेख अद्यावधिक नरहेको महालेखा परीक्षकले जनाएको छ । अद्यावधिक नहुँदा महालेखा परीक्षकले सामाजिक सुरक्षा भत्ता कार्यक्रम सञ्चालन कार्यविधि बमोजिम सामाजिक सुरक्षा भत्ता पाउनेको आवश्यक सम्पूर्ण विवरण खुल्ने अभिलेख खाता अद्यावधिक गर्न र सोही आधारमा भत्ता वितरण गर्न गत वर्ष निर्देशन दिएको थियो । अभिलेख अद्यावधिक नभएको, थपघट भएको विवरण लेखा परीक्षणार्थ पेश नभएको, नेट नभएको भन्दै एमआइएस विवरणको उपयोग नगरेकाले सुरक्षा भत्ताको रकम पाउनु पर्नेले नै पाएको भन्न सक्ने आधार नभएको भनी यसअघि लेखापरीक्षणले प्रतिवेदन दिएको थियो । गत वर्षको आर्थिक विवरणमा देखाएको रकममा एकलाख २७ हजार फरक पर्न गएको देखिएकाले यस्तो फरक रकमको मिलान ९रिकन्साइल० हुनुपर्ने समेत लेखा परीक्षण प्रतिवेदनमा औँल्याइएको छ । गत जेठ–असारमै बाँड्नुपर्ने रकम अहिलेसम्म पनि उपलब्ध नभए पछि आक्रोशित शुभक रामले भने – “घरदैलोमै पाउनु पर्ने रकमका लागि महिनौदेखि लौरो टेकेर धाउनु परेको छ र पनि भत्ता पाउन सकिएको छैन ।”
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: