भौतिक पुर्वाधार मन्त्रालयमा गाडिको अत्याधिक दुरुपयोग


प्रदेश नम्बर २को भौतिक पुर्वाधार मन्त्रालयमा मन्त्री जितेन्द्र सोनलको प्रत्यक्ष संग्लनतामा नै गाडिको दुरुपयोग हुने गरिएको छ। मन्त्रीका आफनतहरुले गाडि चढने गरेका छन। मन्त्री सोनलले २ वटा ४ पांग्रे गाडी प्रयोग गरिरहेका छन् । एउटा सरकारी गाडी उनी आफैं चढ्ने गर्छन् भने अर्को सरकारी ४ पांग्रे गाडी मन्त्री सोनलका पत्नी र छोराले चढ्दै आएका छन् ।
२०७५ मंसिर २१ गते मन्त्रालयको अभिलेखमा दाखिला गराइएको ज१झ ४३४ नम्बरको सेतो प्लेटको सफारी स्टोर्म मन्त्री सोनलले आफैं चढिरहेका छन् । ७० लाख ७२ हजार ९ सय ९९ रुपैयाँमा मन्त्रालयले खरिद गरेको ४ पांग्रे गाडी मन्त्री सोनलले चढ्ने गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट को१झ ४९६ नम्बरको सेतो प्लेटको सेतो रंगको महेन्द्रा एस्कार्पियो गाडी भने मन्त्री सोनलका पत्नी र छोराछोरीले चढ्दै आएका छन् ।
नयाँ गाडी किन्नुअघि मुख्यमन्त्री कार्यालयबाट हस्तान्तरण गरिएको को१झ ४९६ नम्बरको गाडी फिर्ता गर्नुको साटो उनले आफ्नै मातहत राखेर  परिवारका सदस्यलाई मोजमस्ती गर्न दिएका छन् ।
भौतिक पूर्वाधार विकास मन्त्रालयको जिन्सी फाँटमा रहेको अभिलेखमा दाखिला भएको गाडीबारे जिन्सी फाँटका प्रमुख अनिता राउतले भनिन्, ‘ज१झ ४३४ नम्बरको गाडी मन्त्रीज्यूले आफैं चढ्नुहुन्छ भने अर्को गाडी को१झ ४९६ नम्बरको ४ पांग्रे गाडी प्रायःजसो मन्त्रीज्यूले काठमाडौंमैं राख्नुहुन्छ ।’
मन्त्रालयका सचिव पुष्करनाथ घिमिरेले आफूलाई गाडीबारे जानकारी नरहेको प्रतिक्रिया दिए । ‘मन्त्रीज्यूले ज१झ ४३४ नम्बरको गाडी चढ्नुहुन्छ भन्ने कुरा त थाहा छ तर अर्को गाडी पनि लिनुभएको छ र परिवारका सदस्यले चढ्नुभएकोबारे जानकारी छैन,’ सचिव घिमिरेले भने, ‘यदि अभिलेखमा गाडी दाखिला भएको छ भने त्यो बुझ्नैपर्ने हुन्छ ।’ स्रोतका अनुसार अर्को गाडी की त मन्त्री सोनलको गृहजिल्ला बारास्थित घरमा हुन्छ कि त काठमाडौंमा हुन्छ । मन्त्री सोनलका परिवारका सदस्य र पार्टी कार्यकर्ताले व्यक्तिगत काममा समेत सरकारी गाडी प्रयोग गर्दै आएका छन् । काम नहुँदा गाडी बाराको परवानीपुर गाउँपालिका–३ लिपनीमालस्थित मन्त्री सोनलकै घरको आँगनमा पार्किङ गरेर राख्ने गरिएको छ । सोनलका परिवार काठमाडौंमा बस्ने गरेका बेला गाडी काठमाडौंमा हुन्छ । सरकारी गाडी पार्टी कार्यकर्ता र आफन्तले समेत चढ्दै आएको स्रोतको दाबी छ ।
‘को१झ ४९६ नम्बरको पुरानो गाडी मैले राखेकै छु, त्यो गाडी काठमाडौंमा हुन्छ तर त्यो गाडी मेरो श्रीमतीले चढ्ने गरेका छैनन्, म काठमाडौं जाँदा त्यहाँ चढ्ने गरेको छु,’ मन्त्री सोनलले भने, ‘मन्त्री भएपछि जनकपुरदेखि वीरगञ्ज र काठमाडौं आवतजावत लागिरहेको हुन्छ, त्यसैले उक्त गाडी काठमाडौंमा राख्ने गरेको छु ।’
पत्नी र छोराछोरी काठमाडौंमा भएपनि सरकारी गाडी प्रयोग गर्ने नगरेको मन्त्री सोनलले दाबी गरे । ‘श्रीमतीलाई काम पर्दा ट्याक्सी, ट्याम्पु चढ्ने गर्छन्,’ मन्त्री सोनलले भने, ‘गाडीको विलासी वा सुखसयल गर्दैनौं, भगवानको कृपाले छोराछोरीको लागि मोटरसाइकल छन्, काठमाडौं जाँदा कोसँग गाडी माग्ने, त्यसैले गाडी राखेको छु ।’
राज्यमन्त्री डिम्पल झाले ज१झ ४३६ र सचिव घिमिरेले ज१झ ४३५ नम्बरको सफारी स्टोर्म चढिरहेका छन् । ७० लाख ७२ हजार ९ सय ९९ रुपैयाँमा खरिद गरिएको सफारी स्टोर्म नै राज्यमन्त्री र सचिवले चढ्ने गरेका छन् ।
नियम विपरीत उपसचिवलाई ४ पांग्रे गाडी
सहसचिवभन्दा तलको तहका कर्मचारीलाई ४ पांग्रे गाडी सुविधा दिने नियम छैन तर भौतिक पूर्वाधार मन्त्रालयमा उपसचिव स्तरका कर्मचारीलाई पनि ४ पांग्रे गाडी सुविधा प्रदान गरिएको छ । ४ पांग्रे गाडी र मोटरसाइकल समेत एकैजना उपसचिवले राख्ने गरेको भेटिएको छ ।२०७६ असार ३१ गते मन्त्रालयको अभिलेखमा दाखिला भएको बा१झ ३२९० नम्बरको हाइलक्स पिकअप गाडी मन्त्रालयका उपसचिव तहका सीडीई कृष्णकुमार मिश्रले चढिरहेका छन् । भूमिगत जलस्रोत विकास समिति शाखा कार्यालय लहानबाट हस्तान्तरण भई आएको गाडी मिश्रले चढिरहेका छन् ।
मिश्रले ४ पांग्रे गाडीका अतिरिक्त १ लाख ६१ हजार ९ सय रुपैयाँमा किनिएको टीभीएस मोटरसाइकल समेत राखेका छन् । उपसचिव तहका कर्मचारीले कार्यालय प्रयोजनका लागि फिल्डमा अनुगमन समेत गर्नुपर्ने हुनाले ४ पांग्रे गाडी चढेको मन्त्रालयका सचिव घिमिरेले जिकिर गरे । भे१झ १९२ नम्बरको सेतो रंगको मोटर पिकअप (इसुजु डबल) २०७५ चैत्र ४ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट हस्तान्तरण भई आएको पुरानो गाडी बिग्रेको अवस्थामा रहेको जिन्सी फाँट प्रमुख राउतले बताइन् । गाडी मम्र्मत गर्न वर्कशपमा पठाइएको छ ।
मन्त्री र राज्यमन्त्रीको स्वकीय सचिवलाई मोटरसाइकल
मन्त्री सोनलका ३ जना स्वकीय सचिवले पनि सरकारी मोटरसाइकल चढिरहेका छन् । मन्त्री सोनलका स्वकीय सचिव सन्तोष यादव २ लाख ६९ हजार ९ सय रुपैयाँमा खरिद गरिएको एफजेडएस–एफ–आई–एसई मोटरसाइकल चढिरहेका छन् । २०७५ जेठ १६ गते मोटरसाइकल अभिलेखमा दाखिला गरिएको जिन्सी फाँट प्रमुख राउतले बताइन् । मन्त्री सोनलका अर्का स्वकीय सचिव रमेश सर्राफ र धर्मेन्द्र कुशवाहाले पनि सरकारी मोटरसाइकल चढ्दै आएका छन् । १ लाख ६१ हजार ९ सय रुपैयाँका दरले खरिद गरिएका १२५ सीसीका टीभीएस स्ट्राइकर मोटरसाइकल उनीहरूले चढ्दै आएका छन् ।
राज्यमन्त्री डिम्पल झाका स्वकीय सचिव सञ्जयकुमार झाले पनि टीभीएसको मोटरसाइकल चढिरहेका छन् । ‘स्वकीय सचिवलाई सवारीसाधन उपलब्ध गराउनुपर्ने वा नपर्ने भन्ने ऐन, नियम वा कार्य्विधि त छैन,’ मन्त्रालयका सचिव घिमिरेले भने, ‘तर पछि फिर्ता लिने गरी स्वकीय सचिवलाई हाल चढ्नका लागि मोटरसाइकल दिइएको हो ।’
कर्मचारीलाई पनि मोटरसाइकल
मन्त्रालयका प्रायःजसो सबै कर्मचारीलाई मोटरसाइकल किनेर दिइएको छ । २ लाख ६५ हजार ९ सय रुपैयाँमा किनेर दाखिला गराइएको एफजेडएस–एफआई मोटरसाइकल मन्त्रालयका इन्जिनीयर विनोदकुमार यादवले चढिरहेका छन् । २ लाख १९ हजार ९ सय रुपैयाँमा किनिएको एसजेडआरआर मोटरसाइकल मन्त्रालयका सहलेखापाल टेक नारायण यादवले चढिरहेका छन् । २ लाख २ हजार ८ सय रुपैयाँमा खरिद गरिएको नेभी ब्लू स्कुटर जिन्सी प्रमुख अनिता कुमारी राउतले चढिरहेका छन् । निलो रंगको मोटरसाइकल लेखा अधिकृत राजेश काफ्लेका लागि कार्यालयमा राखिएको भएपनि काफ्लेले हालसम्म नबुझेको जिन्सी प्रमुख राउतले जानकारी दिइन् ।
१ लाख ६१ हजार ९ सय रुपैयाँमा खरिद गरिएको १ सय २५ सीसीको टीभीएस स्ट्राइकर अन्य बाँकी कर्मचारीले प्रयोग गरिरहेका छन् । इन्जिनीयरहरू  रामचन्द्र चौधरी, राजेन्द्र दास, हस्मत अन्सारी, कुन्दनकुमार कर्ण, शाखा अधिकृतहरू अमनकुमार कर्ण, आनन्द झा, नायव सुब्बा दिपककुमार ठाकुर, कम्प्यूटर अपरेटरद्वय अजय साह र सुशीलकुमार मण्डलले मोटरसाइकल चढिरहेका छन् । ३ वटा टीभीएस मोटरसाइकल मन्त्रालयमा जगेडामा नै राखिएको छ भने निर्देशनालयमा असार मसान्तसम्मको लागि मात्र प्रयोग गर्न दिइएको मोटरसाइकल हालसम्म फिर्ता नभएको राउतले बताइन् ।इन्धनमा मनपरी
मन्त्री, राज्यमन्त्री, सचिवले चढ्ने सवारीसाधनमा इन्धन प्रयोगमा चरम दुरुपयोग भइरहेको छ । ऐन अनुसार पाउने इन्धन सुविधा मन्त्री तथा राज्यमन्त्रीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट लिनुका साथै आफ्नै मन्त्रालयबाट पनि लिने गरेका छन् । दोहोरो इन्धन सुविधा लिन पाउने प्रावधान छैन तर पनि लिने गरिएको छ ।
‘अहिले बाढी आएका कारण फिल्डमा मन्त्रीज्यूहरूको आवतजावत बढी भएकाले इन्धन बढी खपत भएको हो,’ सचिव घिमिरेले भने, ‘अब दोहोरो इन्धन सुविधा नलिने तथा आ–आफ्नै मन्त्रालयबाट मात्र इन्धन लिने गरी ऐन बन्दैछ ।’ इन्धनमा चरम दुरुपयोग भएको स्वीकार गर्दै त्यसलाई नियन्त्रण गर्ने घिमिरेले बताए ।


SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: